काठमाडौँ, ६ माघ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताउनुभयो ।
उहाँले आगामी महासमिति बैठक पछि महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्ने गरि अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिनु भयो ।
कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिका बीच खटपट हुने नदिने गरि काम गर्नु पर्नेमा जोड दिनु भयो । जनप्रतिनिधि र पार्टी पति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बीचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।
उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गर्नुभयो ।
उहाँले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ”, उहाँले भन्नुभयो ।
२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उहाँको भनाइ थियो । उहाँले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्छ भन्नुभयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
