Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड


  • मंगलबार, पुष १० २०८०

  • मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती होः प्रधानमन्त्री प्रचण्ड

    पुस १०, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ।

    मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित १३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो।

    उहाँले भन्नुभयो, ‘‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन। माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ। सबैभन्दा ठूलो परिवर्तन आइटी क्षेत्रमा आएको छ। साम्राज्यवादले नयाँ नयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ। हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्यो, त्यो गर्न सकिरहेका छैनौँ। आजको मुख्य चुनौती यही हो।’’

    ‘‘माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु पनि हो। उहाँले मार्क्सवादका तीन वटै संगठक अंगमा मौलिक योगदान गर्नुभएको छ, मार्क्सवादको नितान्त सिर्जनात्मक विकास गर्नुभएको छ। हामीले सिक्ने त्यहीँनेर हो। हामी कुनै यान्त्रिकता वा अन्धानुकरणमा जानु हुँदैन। पार्टीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही हो।’’

    अध्यक्ष प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनुेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएका छौँ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो। त्यसकै आधारमा हामी अगाडि बढ्छौँ।’’

    पार्टीले चार महिनाका लागि सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समापनलगत्तै अर्को अभियानको सुरूवात गरिने उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘चार महिने अभियान पुस १६ गते समापन हुँदैछ। त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियामा जनतामा नै जान्छौँ। त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं।’’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij