काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल को सचिवालयले सांसद अमरेश कुमार शिंह को पछिल्ला अभिव्यक्ति प्रति गम्भिर आपात्ति प्रकट गर्दै सत्ताको वार्गेनिङ्ग गरेको आरोप लगाएको छ । आज एक विज्ञप्ती जारी गर्दै सचिवालयले प्रधानमन्त्री र उनको परिवार प्रति अनर्गल, भ्रामक र झुठको खेति गर्दै आएको दावी गरेको छ ।
प्रधानमन्त्री सचिवालय बाट जारी विज्ञप्ती यस्तो छ :
मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्। उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।
उनको यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौं।
देशलाई ठग्ने उद्देश्यले Ncell बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ।
सम्माननीय प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ। छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।
सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णत: झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ।
यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलावद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौं।
सम्माननीय प्रधानमन्त्रीज्यूका सचिवालयका सदस्यहरू सबै प्रकारका कुप्रचार, आरोप र चुनौतीहरु सामना गर्न तयार छौँ। हामीलाई विश्वास छ, छानविन समितिले निर्धारित समयमा काम गर्ने छ, सत्य सबैसामु छलङ्ग हुनेछ, दोषी कोही छुट्ने छैनन् र कुप्रचार एवं भ्रमका सम्पूर्ण पर्दा च्यातिनेछन्। धन्यवाद।
-प्रम सचिवालय
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
