काठमाडौं– मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशवकुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।
माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार मात्रै प्रेस विज्ञप्ति जारी गर्दै उनलाई ‘पार्टी हित विपरित काम गरेको’ भन्दै पार्टीबाट निष्कासन गरिएको र नगर प्रमुख पदबाट पदमुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
