Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ – प्रचण्ड


  • बुधबार, भाद्र ३० २०७८

  • आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ – प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूले अब आफैंले आफैंलाई गाली गर्नुपर्ने बताएका छन् । बुधबार स्व. नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को सातौं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अबस्था आएको बताएका हुन् ।

    ‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौ । ‘यो ८/१० वर्ष हामीले अरुलाई गाली गरेर बिताएछौं । अब आफैंलाई गाली गर्न थालौं,’ उनले भने, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’

    प्रचण्डले भने – ‘आउने निर्वाचनमा हेर्नुहोला, केन्द्रीय समितिबाट हामीले जुन संकल्प गरेका छौ, विचार, सिद्धान्त र संगठन बनाउने त्यो अनुसार हिँडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न सक्दैन र हामीले देशको नेतृत्व गर्ने स्थिति बन्छ ।’
    यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ उनले भने, ‘यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेछ ।’

    प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।

    दिवंगत नेता बोगटीको स्मरण गर्दै उनले भने, ‘उहाँ सरल हुनुुहन्थो, सहज हुनुहुन्थ्यो । जहाँजहाँ पार्टीलाई असजिलो पर्‍यो त्यहाँ उहाँको स्मरण हुन्थ्यो । साथीहरूका बीच बहस छलफललाई लिएर पहल गर्ने विशिष्ट चरित्र थियो उहाँमा ।’

    उनले अघि भने, ‘पार्टीभित्र समस्या आयो भने केही व्यक्तित्वहरूलाई जनयुद्धकालको स्मरण मात्र गराउन चाहन्छु । हैसियतको हिसाबले पदमा माथि भए पनि त्यस्ता व्यक्तिहरूको व्यक्तित्वमाथि नतमस्तक हुने हुँदो रहेछ । कमरेड पोष्टबहादुर त्यस्तै चरित्रको हुनुहुन्थ्यो ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij