काठमाडौं – नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । मंगलबार सम्पन्न राष्ट्रिय भेलाले नयाँ केन्द्रीय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन ।
गएको शनिबारदेखि सुरु भएको वाईसीयलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए । तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी राष्ट्रिय भेलाले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
