काठमाडौं – इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो । इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले गोल गर्दै जित निकाल्न सफल भएको हो ।
खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको १०५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काए पनि इटालीको हार टार्न सकेनन् ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
