काठमाडौं – नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर दलबदल गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ ।
यस्तै महोत्तरी सम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ । केही वडा अध्यक्षको पनि पद रिक्त भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
