काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले कोरोना भाइरसको माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार स्थायी कमिटीको बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ ।
बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ ।
माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कोभिड महामारीका कारण मजदुर, किसान र विपन्नलाई छाक टार्न नै समस्या हुने अवस्था आउने भन्दै माओवादी केन्द्रले राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
