काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’
‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’
पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए । पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए। ‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
