बुटवल – लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।
कांग्रेस संसदी दलका नेता वीरेन्द्रकुमार कनोडियाले कार्यदल गठन गरेका हुन् । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, बीरबहादुर राना र रमा अर्याल छन् ।
एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट लुम्बिनी प्रदेश सभाको ८७ सिटमध्ये एमालेबाट ४१ जना र माओवादी केन्द्रबाट २० जना प्रदेश सांसद निर्वाचित भएका थिए । अब एकता खारेज भएसँगै सरकार टिकाउन एमालेलाई ३ जना सांसद अपुग भएको छ ।
लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । अब मुख्यमन्त्री शंकर पोखरेलले बहुमत पुर्याउन राष्ट्रिय जनमोर्चाबाहेक कुनै एक दलको समर्थन लिए पुग्छ । एमालेले जनता समाजवादी पार्टीसँग मात्रै मिलेर पनि बहुमत पुर्याउन सक्छ । तर एमाले इतरका दलहरुले सरकार बनाउने अवस्थामा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी दलको गठबन्धन बन्नुपर्छ ।
यी तीन दल मिल्दा ४५ सांसदको समर्थन प्राप्त हुन्छ । त्यस्तो अवस्थामा एक सिट मात्र भएको राष्ट्रिय जनमोर्चाको समर्थन आवश्यक पर्दैन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
