काठमाडौं – नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका छन् । उनी आज दिउँसो काठमाडौं आउँदैछन् । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका छन् । ‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर नारायणगढबाट स्कर्टिङ गरेको छ ।
करिब तीन वर्ष भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।
सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
