काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् ।
काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् । तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने ।
अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको प्रचण्डको आरोप लगाए ।प्रचण्डले भने – ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो ।’
ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताए । ‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डको भनाइ थियो ।
ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनले बताए । ‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो । साथीहरुको विश्वास लिन सक्नु भएन’, उनले भने ।
ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिडेको प्रचण्डले आरोप लगाए । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको प्रचण्डको भनाइ थियो । अख्तियारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत ओली आफैले सफाइ दिने गरेको उनले बताए ।
प्रचण्डले संसद विघटनसम्बन्धी मुद्दाको निर्णय अदालतले संविधानको अक्षर र भावनालाई हेरेरै गर्ने पनि विश्वास व्यक्त गरे । ‘संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यसबारेमा म धेरै भन्न चाहन्न तर अदालतले संविधानको अक्षर र भावनालाई हेरेर निर्णय गर्छ भन्ने हामी विश्वास छ’ उनले भने । प्रचण्डले दुई तिहाइ केन्द्रीय कमिटी आफूहरुतिर रहेकाले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरे । ‘नेकपा हाम्रो हो र सूर्य चिन्ह पनि हाम्रै हुनेछ’ उनले भने- ‘यो विषयमा तपाईंहरु द्विविधामा बस्नु पर्दैन ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
