काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् ।
बिहीबार नागरिक समाजका अगुवाहरुसँग भएको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताए ।
केपी ओली होइन, ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भनेको भन्दै उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’
फरक मत राख्नेहरुलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा बा प्रवृत्ति भनेको पूर्व प्रधानमन्त्री नेपालले बताए । कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
