Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले किन भेटे ‘रअ’को प्रमुखसंग ? – प्रवक्ता श्रेष्ठ


  • आइतबार, कार्तिक ९ २०७७

  • कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले  किन भेटे  ‘रअ’को प्रमुखसंग ? – प्रवक्ता श्रेष्ठ

     

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै  प्रश्न गरेका छन्, ‘कूटनीतिक मुल्य र आचारसँहिता विपरीतको विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ  ।’

    रअ का प्रमुख गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएर सोही राती प्रधानमन्त्री निवासमा गएर प्रधानमन्त्री अ‍ोलीसँग ३ घण्टा लामो छलफल गरेका थिए । गोयल र प्रधानमन्त्री अ‍ोलीबीचको भेट विशेषतः देशको समसामयीक राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

    उनले सामाजिक सञ्जालमा व्यक्त गरेको भनाई

    “केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् ।प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij