काठमाडौँ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि युरोपेली सङ्घ (इयु) का राजदूत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले इयुको नेपालका लागि राजदूतको रुपमा नियुक्त हुनुभएकोमा राजदूत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयु सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन समेत राजदूत देप्रेजसँग आग्रह गरे ।
भेटमा राजदूत देप्रेजले नेपाल र इयुका राष्ट्रहरुबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेल्ने बताइन् ।
उनले नेपाललाई इयुले दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिनु । नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गररहेको तथा छिट्टै निश्कर्षमा पुग्ने आश्वासन राजदूत देप्रेजले दिइन् । भेटमा उनले नेपालको संघियताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालेका कदमका सम्बन्धमा गृहमन्त्री थापासँग जिज्ञासा राखेकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
