काठमाडौ – नेपाली कांग्रेसले सरकारलाई कुटनितिक माध्यमबाट सिमा समस्या हल गर्न सुम्भाव दिएको छ । लुपिलेक सिमा विवाद चकिएको वेला कांग्रेसले सरकारलाई भारत सहित चीनसंग पनि सम्वाद गर्न सुझाव दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै सरकारलाई तिन बुँधे सुझाव दिएका छन । कांग्रेसको सुझाव यस्तो छ :
(१) सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो । अतः महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहो¥याउन चाहन्छौं ।
(२) नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ । भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउंदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं ।
(३) हामी संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालका बारे अरु राष्ट्रसंग पनि त्यही अपेक्षा राख्दछौं । अतः दुबै छिमेकी मित्र राष्ट्र संग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ । सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा
हुन्न । अतः दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई फेरि पनि आग्रह गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
