Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’


  • बिहिबार, फाल्गुन १५ २०७६

  • रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’

    काठमाडौं – गत वर्ष ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।
    अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् ।
    दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन पुरस्कार स्थापना गरेको जानकारी दिँदै पर्यटन क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने बताए । मन्त्री भट्टराईका अनुसार, मन्त्रालयले स्थापित पुरस्कारबारे छिट्टै कार्यविधि बनाउने छ ।

    कार्यविधिलगायतको ढिलाइले यस वर्ष दिवंगत अधिकारीको जन्मदिनमा पुरस्कार वितरण गरिने छैन । अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने मन्त्री भट्टराईले जानकारी दिए । कार्यविधि नबनिसकेकाले पुरस्कारको राशि पनि खुलाइएको छैन ।

    गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।
    दुर्घटनामा मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij