रूपन्देही – क्यान्सरले सिकिस्त भएका प्रदेश नम्बर ५ का प्रतिपक्षी दलका नेता वलदेब शर्मा पोखरेलको निधन भएको छ। प्रदेशसभामा ज्येष्ठ सदस्यसमेत रहेका ८२ वर्षीय पोखरेल एक वर्षदेखि क्यान्सरले थलिएका थिए। फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएको थियो।
पोखरेलको सोमबार दिउँसो २ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ स्थित आफ्नै निवासमा निधन भएको हो। पोखरेल प्रदेशसभा सदस्यमा कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित भएका थिए। उनको देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ।
विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराई गरी रुपन्देही झरेका थिए। उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट कांग्रेसको राजनीति शुरू गरेको भाइ ईश्वरचन्द्र पोखरेलले बताए।
रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए भने जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय भए।
पोखरेलको पत्नी, ४ छोरा र २ छोरी छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
