काठमाडौं – नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।
पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि।सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाइएको थियो ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
