विराटनगर – मोरङ र सुनसरीबाट विप्लव समूहका पूर्वी कमाण्ड इञ्चार्जसहित ५ जना कार्यकर्ता पक्राउ परेका छन् । सुनसरीको चक्रघट्टीबाट पूर्वी कमाण्ड इञ्चार्ज उमा भुजेल र सुमनसिंह पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङको बेलबारीबाट मोरङ इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ का ३० वर्षीय क्षितिज पौडेल र पथरीशनिश्चरे नगरपालिका-३ सिद्धार्थ टोलका ५६ वर्षीय चिरिञ्जिव धिताल पक्राउ परेका हुन् ।
प्रहरीले भुजेलको साथबाट एकथान पेस्तोल र पाँच राउड गोली बरामद गरेको छ । चौलागाईको समूहले प्रयोग गर्ने एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका पाँच जना शुक्रबार मोरङको पथरी शनिश्चरे क्षेत्रमा भेला भएका थिए । चन्दा उठाउन भन्दै कार्यविभाजन गरी पूर्वी कमाण्ड इञ्चार्ज भुजेल र पौडेल स्कुटरमा मोरङको केराबारी, सुनसरीको धरान हुँदै चक्रघट्टी पुगेका थिए ।
चन्दा संकलन गर्न हिँडेका चौलागाई र पौडेललाई बेलबारी नगरपालिका – ५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
