Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता


  • सोमबार, पुष १४ २०७६

  • अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता

    काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ ।

    बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरवारस्थित कार्यकक्षमा भेट गरेको उनको सचिवालयले जनाएको छ ।

    नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसङ्ख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।

    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसङ्ख्यकबारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म सो समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराएका थिए ।

    भेटमा अध्यक्ष तिमिल्सिनाले भने,“नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारीरिक अवस्थाको आधारमा भेद्भाव नगरिने कुरालाई सुनिश्चित गरेको छ । सङ्घीय संसद्ले पनि यससम्बन्धी मौलिक तथा अन्य थुप्रै कानून निर्माण गरिसकेको छ ।”

    अध्यक्ष तिमिल्सिनाले दुई देशबीच शिक्षा, स्वास्थ्य, व्यापार, ऊर्जा, कृषिलगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए । उनले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बङ्गलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिए ।

    सो अवसरमा सभापति गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानूनी व्यवस्था प्रशंसायोग्य रहेको बताउँदै बङ्गलादेश सरकार दलित, अल्पसङ्ख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारमा लागिपरेको उल्लेख गरे । उनले नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बङ्गलादेशले सिक्दै कानूनी रूपमै सुधार गर्ने उल्लेख गरे ।

    सभापति शील गोपालले नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, शिक्षा र पर्यटन क्षेत्रको सहकार्य बढाउनुपर्ने धारणा राख्दै नेपालको संसद्को तर्फबाट अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि आग्रहसमेत गरको थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij