Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँचौं पटक प्रधानसेनापति महिला फुटबल उपाधि एपिएफलाई


  • बुधबार, पुष ९ २०७६

  • पाँचौं पटक प्रधानसेनापति महिला फुटबल उपाधि एपिएफलाई

    काठमाडौं – नेपाल एपिएफ क्लबले प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफ पाँचौं पटक च्याम्पियन बनेको छ । एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए ।
    भद्रकालीस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र जङ्गी अड्डाको मैदानमा पाँचौं मिनेटमा सुरुको गोलबाट एपिएफले अग्रता लिएको थियो । खेल सकिन १ मिनेट बाँकी रहँदा रेखाले अर्को गोल थप्दै जित निश्चित पारेकी थिइन् । उपाधिसहित एपिएफले ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र भुटानको राष्ट्रिय टोलीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लबलाई ५–२ ले हराउँदै एपिएफ र भुटानको राष्ट्रिय टोलीलाई २–० ले हराउँदै आर्मीले एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए ।

    लिग चरणमा एपिएफ र आर्मी एकै समूहमा थिए । एपिएफ अपराजित रहँदै समूह विजेता बनेको थियो । जहाँ एपिएफले आर्मीलाई ४–२ ले हराएको थियो । एपिएफले समूह चरणमा सिक्किम युनाइटेडलाई १८–० र प्रदेश १ लाई ९–० ले हराएको थियो । सोही समूहमा सिक्किमलाई १० –० ले हराएको आर्मीले प्रदेश १ लाई ९–० ले नै पराजित गरेको थियो । मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij