काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिगमा लगातार अपराजित यात्रालाई निरन्तराता दिने क्रममा बुधबार मच्छिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिनको पहिलो खेलमा मच्छिन्द्रलाई जित दिलाउन दुई गोल विदेशी खेलाडीले र रेजिन सुब्बाले एक गोल गरे । यसअघि सम्पन्न दुई खेलमध्ये एकमा जित र एकमा बराबरी नतिजा निकालेको मच्छिन्द्रका लागि पिटर सेगुनले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । फ्रेन्ड्का डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सेगुनले जाली चुमाएका हुन् । राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण मच्छिन्द्रले सुरुआतबाट नै फ्रेन्ड्सलाई दबाबमा राखेको थियो ।
पहिलो हाफमा देखाएको लयलाई मच्छिन्द्रले दोस्रो हाफमा कायम राख्न सफल भयो । ५२ औं मिनेटमा एडिलेजा सोमिडेले मच्छिन्द्रका लागि दोस्रो गोल गरे । कप्तान विराज महर्जनको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि पनि आक्रामक रणनीतिलाई निरन्तरता दिएको मच्छिन्द्रले ८५ औं मिनेटमा तेस्रो गोल थप्यो । रेजिन सुब्बाले पेनाल्टी क्षेत्रमा पाएको बललाई गोलमा परिणत गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
