चेल्सीलाई काराबाओ (इएफएल) कप फुटबलमा म्यानचेस्टर युनाइटेडको झट्का लागेको छ । बुधबार राति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै युनाइटेडले क्वार्टरफाइनलमा आफ्नो स्थान बनायो । यस हारसँगै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ । चेल्सीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेडलाई जिताउन मार्कुस रास्फोर्डले दुई गोल गरे । चेल्सीका मिसी बात्सुईले सान्त्वना गोल फर्काएका थिए ।
युनाइटेडका लागि २५औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत् खाता खोलेका थिए । ६१ औं मिनेटमा चेल्सीका मिसी बात्सुईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७३ औं मिनेटमा रासफोर्डले फ्रिकिक मार्फत दोस्रो गोल गर्दै युनाइटेडलाई जिताएका थिए । इएफएल कपकै अर्को खेलमा एस्टन भिल्लाले वल्भरह्याम्पटन वान्डर्सलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एस्टन भिल्लाको जितमा अनवार इल–घाजीले २८ औं र अहमेल इल मोहमादीले ५७ औं मिनेटमा गोल गरे । वल्भरह्याम्पटनका प्याट्रिक कुटरोनले ५४औं मिनेटमा एक गोल फर्काएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
