काठमाडौं – सत्तारुदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिका लागि त्रिदेशीय सम्बन्ध आवश्यक रहेको बताएका छन् ।
आज नेकपाले बुकाठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल, भारत र चीनबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबाट नेपालले लाभ लिन सक्ने बताएका हुन् ।
उनले चिनियाँ राष्ट्रपतिले नेपाललाई ल्यान्डलकबाट ल्याण्डलिंक मुलुक बनाउन दिएको बचन नेपाल र नेपालीका लागि महत्त्वपूर्ण रहेको बताए । उनले सीको नेपाल भ्रमणका धेरै आयाम रहेको बताउँदै दुई देशबिचको विश्वास र समझदारी ऐतिहासिक भएको बताए ।
उनले आफू प्रधानमन्त्री रहेका बेला भारत र चीन भ्रमणका क्रममा आफूले त्रिदेशीय सम्बन्धको बारेमा कुरा उठाएको बताउदै नेपालको हितका लागि यस्तो सम्बन्ध आवश्यक रहेको उल्लेख गरेका थिए ।
उनले अहिले हासिल गरेको लोकतान्त्रिक गणतन्त्र ७० बर्षको संघर्षबाट प्राप्त भएको बताउँदै यसको हक कुनै नेता विशेष र दल विशेष नभई सबैको साझा सम्पतिको रुपमा रहेको भन्दै यसको रक्षाका लागि सबै दलहरु एकताबद्ध हुनुपर्ने बताए ।
उनले अब पार्टीको ध्यान समाजवादउन्मुख, आर्थिक समृद्धि हासिल गर्ने तर्फ र सुखी नेपाली समृद्ध नेपाल बनाउनेतर्फ रहेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
