काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन सत्तारुढ दल नेकपा नेताहरुलाई सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टीमा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्तामा सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएको भेटपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा पनि सो क्रममा जोड दिएका थिए । सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समयानुकुल जनतासँग जोडिएर विकास गरेको उनको भनाइ थियो ।
जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।
छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच राजनीतिक रुपमा सम्बन्ध बढाउँदै लैजानुपर्नेमा सीले पनि सहमति जनाएका थिए ।
भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
