काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरशः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिए ।
उनले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराए ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने स्पष्ट पारे ।
उनले सरकारका हरेक गतिविधि जनभावना विपरित, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै खतरा बढदै गएको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
