काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकपछि अर्को जनअपेक्षा विपरीतका विधेयक ल्याएको भन्दै कडा आलोचना गरेका छन् ।
मंगलबार कास्कीमा पत्रकार महासंघले गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सत्तारूढ नेकपा नेतृत्वको सरकार सत्ता कब्जाको बाटोमा हिँडेको आरोप लगाए।
साथै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गरेका छन्। ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए। सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन्,’ देउवाले भने।
मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयकजस्ता विधेयक ल्याएको भन्दै उनले फिर्ता लिन सरकारलाई आग्रह समेत गरे।
‘हामीले सडकमा आन्दोलन गरेको छैन। रेलिङ भाँचेको छैन,’ उनले भने, ‘सरकार सुध्रिएन भने जनतासँगै सडक संघर्षमा जान्छौं।’
सरकारको राम्रा कामको प्रतिपक्ष दलले प्रशंसा गर्ने बताउँदै उनले नराम्रा काम गरेमा जनताको साथ लिएर खबरदारी गर्ने बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
