काठमाडौँ -आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
कप्तान पारस खड्काले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले ५ चौका र ३ छक्का हिर्काए ।
योसँगै ज्ञानेन्द्र मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।
त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए ।
यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।
मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए ।
छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले अब तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।
नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
