Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार हो -अध्यक्ष प्रचण्ड


  • आइतबार, जेष्ठ ५ २०७६

  • विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार  हो  -अध्यक्ष प्रचण्ड

    नुवाकोट – शनिबारदेखि नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
    विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताए । “कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको छ”, उनले भने, “विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार भएकाले यसको व्यवसायीकरण र आधुनिकीकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।”

    अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् तर वार्षिक अर्बौं रुपैयाँ खर्चिएर आयात भइरहेको कृषि सामग्री र उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने उनको भनाइ छ ।

    पाँच दिनसम्म चल्ने मेलामा ९० वटा कक्ष राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क कक्ष उपलब्ध गराइएको छ भने बाँकीलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको छ । मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

    मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलफूलको बीउ, बिरुवासमेत उपलब्ध छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij