काठमाडौं– नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गरेका छन् ।
राष्ट्रिय विभूति सीता जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले
चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे ।
हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको उनले बताए । अध्यक्ष प्रचण्डले त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताए । उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए ।
‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्ति पीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
