बुटवल -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो विश्वयुद्वको समयमा आक्रामक अवस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलन अहिले आएर रक्षात्मक अवस्थामा पुगेको उनले बताए।
आइतबार रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अझै एकतावद्व गराउनुपर्ने बताए। कम्युनिष्टविरूद्ध प्रतिक्रान्ति शक्ति लागि परेकाले पनि अब नेपालमा कम्युनिष्ट शक्ति एकताबद्ध हुन जरुरी रहेको उनले बताए।
अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्टहरूलाई स्थापित हुन नदिन देशभित्र र बाहिरबाट प्रतिक्रान्ति शक्तिहरूले प्रयत्न गरिरहेको दाबी गरे।
अहिले कम्युनिष्ट सरकारको काँधमा धेरै ठूलो अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादको नयाँ युगमा जाने अवसरलाई गुमाउन नहुने बताए।
‘हिजो शक्तिमा रहेको र अहिले पराजित भएको वर्गले कम्युनिष्टविरूद्धमा जनतामा भ्रम सृजना गरी विजयी भएको वर्गलाई पछाडि पार्ने प्रयास भएको छ यसतर्फ हामी सचेत भई जनमत जोगाउनेतर्फ लाग्न जरुरी छ,’ उनले भने। कम्युनिष्ट विज्ञान र सत्यतामा आधारित रहेकाले प्रतिक्रान्ति शक्तिकाविरूद्ध जनमत तयार गर्नुपर्ने उनले बताए।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै उपलब्धिलाई टेकेर कम्युनिष्ट व्यवस्थालाई टिकाउन अगाडि बढ्न जनमत तयार गर्नुपर्ने बताए। उनले हाम्रा अगाडि निकै ठूलो अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीलाई चिरेर अगाडि बढ्नुपर्ने बताए।
कम्युनिष्ट आन्दोलनलाई भ्रमित पारेर जनतालाई भड्काउने काम भइरहेकाले त्यसकाविरूद्ध जनमत तयार गर्न पत्रकारिताको भूमिका रहने उनले बताए।
‘क्रान्ति पूर्ण सफल भयो भन्ने अवस्थामा हामी छैनौं, तर एउटा दूरगामी परिवर्तनको सुरूआत भएको छ,’ उनले भने, ‘यस्तो बेलामा जनतालाई निरन्तर सजग र स्पष्ट पार्न सकिएन भने जनमतविपरित पनि हुन सक्छ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
