काठमाडौं-म्यान्मारकी स्टेट काउन्सिलर आङसान सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छन्।
आजदेखि काठमाडौंमा सुरू भएको ‘एसिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रूपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताएकी हुन्।
दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षाजस्ता एसिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरिन्।
सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरे। नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए।
आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताइन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
